Sagun Khabar
सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता : डडेल्धुराको महेन्द्र मावि प्रथम

डडेल्धुरा –सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालय प्रथम भएको छ । 

विद्यालयले भौतिक, रासायनिक र जीव विज्ञानसँग सम्बन्धित विभिन्न प्रयोगात्मक नमूना प्रदर्शनी प्रस्तुत गर्दै शीर्षस्थान हात पारेको हो । शुक्रबार डडेल्धुरास्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा सुदूरपश्चिमका सात जिल्लाका नौ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा डोटी र अछामका विद्यालय भने अनुपस्थित रहेका थिए ।

स्थानीय तहबाट छनोट हुँदै प्रदेशस्तरसम्म पुगेका विद्यालयबीचको प्रतिस्पर्धामा निर्णायकमण्डलले स्थानीय सामग्रीको उपयोग, आर्थिक व्ययभार, प्रस्तुतीकरण र प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेको थियो । महेन्द्र माविले सात जिल्लाका अन्य विद्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गर्दै २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय अत्तरियाले द्वितीय हुँदै १५ हजार प्राप्त गरेको छ । 

यस्तै महेन्द्रनगर माध्यमिक विद्यालय कञ्चनपुर तृतीय भई १० हजार प्राप्त गरेको छ भने भानोदय माध्यमिक विद्यालय बाजुराले सान्त्वना पुरस्कारस्वरूप पाँच हजार प्राप्त गरेको छ । विज्ञान विषयतर्फ विद्यार्थीको आकर्षण बढाउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको महेन्द्र माविका प्रधानाध्याक सुरेन्द्रसिंह ऐरले बताए ।

पछिल्लो समय विज्ञान विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको उल्लेख गर्दै उनले विषय शिक्षक पाउन पनि मुस्किल भइरहेको बताए । कार्यक्रमले सुदूरपश्चिमका विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि र प्रयोगात्मक अध्ययनप्रतिको उत्साह बढाउने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update