बैतडी –बैतडी कारागारबाट भागेका एकजना कैदीबन्दी अझै फरार रहेका छन् ।
जेनजी प्रदर्शनको क्रममा गएको भदौ २४ गते कारागारबाट भागेका ६१ जना फर्किसकेका छन् भने एक जना अझै फरार रहेका छन् ।
जेनजी प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये जबरजस्तीकरणी मुद्दाका एकजना अझै सम्पर्कमा नआएका कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताइन् । पाटन नगरपालिका–३ गुजर घर भएका राजेश लुहार सम्पर्कमा नरहेका भण्डारीले बताइन् । उनको प्रहरीमार्फत खोजीकार्य जारी रहेको छ ।
जिल्ला अदालतको फैसलाबाट जबरजस्तीकरणी मुद्दामा १० बर्षे कैद सजाय भोगिरहेका लुहार जेनजी प्रदर्शनका क्रममा फरार भएका हुन् ।
जेनजी प्रदर्शनको क्रममा कारागारको बन्दीगृहबाट ५४ जना कैदीबन्दी र ८ जना थुनुवा भागेका थिए । ती मध्ये ५३ जना कैदीबन्दी र ८ जना थुनुवा कारागार फर्किसकेका कारागार कार्यालयकी प्रमुख भण्डारीले बताइन् ।
फरार रहेका राजेश लुहारको हुलियासहित सबै ठाउँमा जानकारी पठाइसकेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । उनी भारततर्फ भागेको आशंकामा भारतीय पक्षसँग समेत समन्वय भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।
फरार रहेका लुहारलाई अब थप कैद सजाय हुन सक्ने कारागार कार्यालयकी प्रमुख भण्डारीले बताइन् ।
कारागार कार्यालयको बन्दीगृहमा अहिले ५२ जना कैदीबन्दी र ८ जना थुनुवा गरेर ६० जना रहेका छन् । कारागार कार्यालयको बन्दीगृहमा २५ जना कैदीबन्दी बस्ने क्षमता भएपनि झण्डै तेब्बर कैदीबन्दी र थुनुवा रहेका छन् ।





