बैतडी–बैतडीमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम शुरु भएको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत बैतडीमा पनि उक्त कार्यक्रम आज र भोलि सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
बैतडीमा १७ हजार ८ सय १९ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदैछ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ए खुवाउने गरिएको छ ।
यस्तै १५ हजार ६ सय ८३ जना बालबालिकाहरुलाई जुकाको औषधि खुवाइँदैछ । १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने गरिएको खोेप सुपरभाइजर निरीक्षक भट्टले बताए ।
बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जिल्लाभरी ८ सय ३१ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरिएको छ ।
यस्तै अभियान अन्तर्गत ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुलाई बालभीटा वितरण गर्ने कार्य भइरहेको छ । यस्तै बालबालिकाहरुको कुपोषण लेखाजोखा गर्ने कार्य समेत भइरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए ।
भिटामिन ए र जुकाको औषधि आज खुवाउन छुटेका बालबालिकाहरुका लागि भोलि पनि अभियान सञ्चालन रहने बताइएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले तोेकेको स्थानमा आफ्ना बालबालिकाहरुलाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।





