Sagun Khabar
फाल्ङाशैनी भगवतीको ‘भवानी जात्रा’ कार्तिक १८ र १९ गते 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–५ स्थित फाल्ङाशैनी भगवती मन्दिरको भवानी जात्रा यही कार्तिक १८ र १९ गते हुने भएको छ । 

हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन यो मन्दिरमा जात्रा लाग्ने गरेको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । फाल्ङाशैनी भगवती मन्दिरमा दशैँको नवरात्रको समयमा पनि जात्रा लाग्ने गर्दछ । 

कार्तिक शुक्ल पक्षमा पर्ने जात्रामा राँगाको बलि दिने परम्परा रही आएको छ । कार्तिक शुक्ल चतुर्दशीका दिन मन्दिरमा राँगा बाँध्ने र पूर्णिमाका दिन बलि दिने परम्परा रही आएको छ । 

यो जात्रामा विभिन्न ठाउँका दर्शनार्थीहरु पुग्ने गरेका छन् । यो क्षेत्रका भक्तजनहरु भगवतीको पूजाआराधनाका लागि पहिले निङ्गलाशैनी भगवती मन्दिरमा आउने गरेको र पछि सुर्नयाको रौलेश्वरमै भगवती उत्पन्न भएपछि सोही ठाउँमा पूजापाठ गर्ने चलन बसेको पूजारी भट्टले बताए । 

भवानी जात्रामा स्थानीय उत्पादनले बजार समेत पाउने गरेका छन् । यो जात्रामा प्याजको बेर्ना, स्थानीय कृषि उपज, परम्परागत भाँडाकुडाको व्यापार समेत हुने गरेको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update