डडेल्धुरा – डडेल्धुरामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
डोटीबाट डडेल्धुरा आउँदै गरेको लुम्बिनी प्रदेश ०१००१ च ३३०१ नम्बरको बलेरो जिप शनिबार दिउँसो १२ बजेतिर डडेल्धुराको गन्यापधुरा गाउँपालिका –३ मछलीखोला भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
जिप सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए ।
दुर्घटना हुँदा जिपमा सवार डोटीको सायल गाउँपालिकाका पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षका मदन साउँद र १६ वर्षका केशव साउँद रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरुमध्ये चार जनाको अवस्था सामान्य छ भने लाली साउँदको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घाइतेहरू सबैको डडेल्धुरा अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।





