Sagun Khabar
उदयदेव–पाटन प्रिमियर लिग : हिमचुली सेमिफाइनलमा

बैतडी –बैतडीको पाटनमा जारी पाँचौ संस्करणको उदयदेव–पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगितामा हिमचुली युवा क्लब सेमिफाइनल पुगेको छ ।

खेलमा हिमचुलीले केदारशक्ति क्रिकेट टिमलाई नौ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । 

जितका लागि पाएको १२२ रनको लक्ष्य पछ्याएको केदारशक्तिले निर्धारित १५ ओभरमा नौ विकेटको क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो । उसका लागि यशकुमार कठायतले ३२ र किरण धामीले ३१ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् । हिमचुलीका ऋषिकेश बोहरा र प्रकाश विष्टले २÷२ विकेट चट्काए ।

यसअघि श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको हिमचुलीले ९ विकेटको क्षतिमा १२१ रन जोड्यो । उसका लागि ऋषिकेश बोहराले ३६, सन्तोष साउदले ३२ र राजेन्द्र बोहराले अविजित २७ रन बनाए । 

केदारशक्तिका सन्तोष पाण्डेयले तीन, किरण धामीले दुई विकेट हात पारे । अलराउन्डर प्रदर्शनमार्फत हिमचुलीलाई जिताएका ऋषिकेश बोहरा प्लेयर अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए ।

पाटन एकता समाजको आयोजनामा यही असोज २५ देखि शुरु भएको प्रतियोगितामा १३ टोली सहभागी छन् । 

पाटन नगरपालिका प्रायोजक रहेको प्रतियोगिताको विजेताले रु एक लाख ३५ हजार ७९१ र उपविजेताले ५६ हजार ७८९ रुपैयाँ नगद पुरस्कार पाउनेछ । 

यस्तै प्लेयर अफ द सिरिजलाई १२ हजार ३४५, उत्कृष्ट ब्याटर र बलरलाई जनही ५ हजार ६७८ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update