Sagun Khabar
बैतडीसहित मध्य पहाडी क्षेत्रमा किसानलाई गहुँ छर्ने चटारो 

बैतडी –बैतडीसहित मध्य पहाडी क्षेत्रमा किसानहरुलाई गहुँ छर्ने चटारो परेको छ । बैतडीका  लेकाली क्षेत्रमा किसानहरु अहिले गहुँ छर्ने कार्यमा व्यस्त रहेका छन् । 

असोज अन्तिम सातादेखि मंसिर पहिलो सातासम्म बैतडीमा गहुँ छर्नका लागि उपयुक्त समय रहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए । 

उनका अनुसार लेकाली क्षेत्रमा गहुँ छर्ने कार्य शुरु भइसकेको छ भने बेँसी क्षेत्रमा मंसिर पहिलो सातासम्म गहुँ छर्ने गरिएको छ । 

खेतलाई खनजोत गरेर गहुँ छर्ने तयारी भएको र केही ठाउँमा गहुँ छरिसकेको सुर्नया गाउँपालिका–६ का केशवराज अवस्थीले बताए । सिँचाइको सुविधा नभएका ठाउँमा गहुँ छर्ने कार्य भइरहेको उनले बताए । उनले भने ‘चिसो ठाउँमा असोज अन्तिम सातादेखि नै गहुँ छर्ने कार्य शुरु हुने गर्दछ । किसानहरु अहिले गहुँ छर्ने कार्यमा व्यस्त रहेका छन् ।’

लेकाली क्षेत्रमा पछि चिसो बढ्ने भएकाले असोज अन्तिम सातादेखि नै गहुँ छर्ने गरिएको सुर्नया ६ का मुरलीप्रसाद अवस्थीले बताए । 

गहुँ छर्नुभन्दा पहिला खेतलाई खनजोत गरेर तयारी गर्नुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले बताए । गोबरमल खेतमा हालेर त्यसपछि खनजोत गरि गहुँ छर्नुपर्नेमा उनले जोड दिए । कतिपय ठाउँमा गहुँ छरेपछि मात्रै गोबरमल हाल्ने चलन रहेकाले त्यो गहुँका लागि उपयुक्त नभएको उनले बताए । गोबरमललाई माटोमा मिसाएपछि गहुँ छर्न उपयुक्त हुने जोशीले  बताए । गहुँ छरेपछि गोबरमल हालेमा त्यसमा भएको तत्व नष्ट हुने भएकाले गहुँ छर्नुभन्दा पहिला गोबर मल हाल्नुपर्ने उनको भनाइ छ । 

गहुँ छर्दा उन्नत जात र सुख्खा सहन सक्ने जातको बीउ प्रयोग गर्दा उपयुक्त हुने कृषि प्राविधिकहरुले बताएका छन् । बैतडीमा डब्लु के १२०४ जातको गहुँको बीउ बढी प्रयोग भइरहेको र त्यही उपयुक्त हुने उनले बताए । 

यस्तै स्वर्गद्वारी, दाँते जातको गहुँको बीउ पनि प्रयोग रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले बताए । बेँसी क्षेत्रमा गौतम जातको गहुँको बीउ पनि प्रयोग भइरहेको उनले बताए । केही ठाउँमा स्थानीय जातको बीउ समेत प्रयोग हुने गरेको उनको भनाइ छ । 

बैतडीमा १५ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिने भएपनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइको अभाव रहेको छ । 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update