Sagun Khabar
६ बर्षदेखि स्वास्थ्यचौकी भवन निर्माण कार्य अलपत्र 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका– ५ साजिबाटामा निर्माणाधीन स्वास्थ्य चौकीको काम ६ वर्षदेखि अलपत्र परेको छ । 

भवन निर्माण कार्य अलपत्र छाडेपछि यो भवन झाडीमा परिणत हुन थालेको स्थानीयहरुले बताएका छन् । दशरथचन्द नगरपालिकाले २०८० सालसम्म निर्माणकार्य सम्पन्न गर्नेगरी विग बी एण्ड कम्पनीसंग २०७७ सालमा स्वास्थ्यचौकी भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । स्वास्थ्यचौकी भवन निर्माण नभएपछि यहाँका स्थानीयहरु मारमा परेका छन् । लामो समयदेखि भवन निर्माण कार्य अलपत्र परेको स्थानीय सुनित भट्टले बताए । 

लामो समयसम्म भवन निर्माण कार्य अलपत्र हुँदा समेत नगरपालिकाले ठेक्का रद्द गरेको छैन् भने निर्माण कम्पनीले पनि काम अघि बढाएको छैन् । स्वास्थ्य जस्तो संवेदनशील बिषयमा नगरपालिका र निर्माण कम्पनीले आफूहरुलाई ठग्दै आएको स्थानीय नारायण भट्टले बताए । यो बिषयमा छानबीन गरेर भवन निर्माण कार्यलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । 

भवन निर्माणका बिषयमा निर्माण व्यवसायीसँग छलफल भइरहेको र केही दिनभित्रै काम सुचारु हुने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले बताए । 

यता निर्माण व्यवसायी विकास चन्दले पनि भवन निर्माणमा देखिएको समस्याका बिषयमा नगरपालिकाले सहजीकरण गर्ने बताएको र आफूले चाँडै काम शुरु गर्ने बताए । 

२०७८ सालमा नगरपालिकाका प्राविधिक कर्मचारीले घुस मागेको भन्दै निर्माण कम्पनीले काम गर्न नसक्ने बताएको थियो । त्यतिबेलादेखि भवन निर्माण कार्य रोकिएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update