
बैतडी –दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ ।
घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।
आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् ।
दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड लागेको छ । बैतडीका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङाशैनी, कालशैनी लगायतका देवीका मन्दिरहरुमा भक्तजनको घुइँचो छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ । यसैगरी चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।
पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।
चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रहरुमा उल्लेख छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।