Sagun Khabar
दशैँ शुरु, आज घटस्थापना 

बैतडी –नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।

बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

बैतडीमा शक्तिपीठ तथा मन्दिरहरुमा सामूहिक जमरा राख्ने चलन रही आएको छ । घरघरबाट जौं लगायत अन्य पूजा सामग्रीसहित शक्तिपीठ तथा मन्दिर लग्ने र सोही ठाउँमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए । 

विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

कसैकसैले जौ बाहेक गहुँ र मकैको  पनि जमरा राख्ने गर्दछन्, तर जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमले बताए । 

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । 

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको धर्मशास्त्रका जानकारहरुले बताए । 

यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update