Sagun Khabar
आगजनी र तोडफोडबाट डडेल्धुरामा तीन करोडको क्षति

डडेल्धुरा –जेनजी पुस्ताको प्रदर्शनका क्रममा डडेल्धुरामा करीब तीन करोड बराबरको क्षति भएको छ । भदौ २४ गते जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकाय, पार्टीका कार्यालय र सुदूरपश्चिमकी सामाजिक विकास राज्यमन्त्रीको घरमा गरिएको तोडफोड र आगजनीबाट करीब तीन करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता,प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए । 

अमरगढी नगरपालिका, आन्तरिक राजस्व, मालपोत, नापी, यातायात, निर्वाचनगायत सरकारी कार्यालय, ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) बहुउद्देशीय विकास समाज (एमपिडिएस), नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, रास्वपा, बिपी कांग्रेस पार्टी कार्यालय र राज्यमन्त्री सरस्वती खड्काको घरमा आगजनी र तोडफोड हुँदा सो मूल्य बराबरको क्षति उनले बताए । 

प्रहरीले उठाएको मुचुल्का अनुसार शनिबार बेलुकीसम्म दुई करोड ५३ लाख मूल्य बराबरको क्षति भएको र केही पार्टी कार्यालयको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

सबैभन्दा बढी क्षति गैरसरकारी संस्था रुडुकमा भएको छ । रुडुकका दुई वटा भवन र सबै सामग्री आगजनीबाट ध्वस्त भएका छन् । रुडुकमा करिब ४० लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ । सरकारी कार्यालयमध्ये मालपोत कार्यालयको करिब ३० लाख क्षति भएको छ । अन्य कार्यालयले सेवा प्रवाह गरे पनि मालपोत कार्यालयको कामकाज ठप्प रहेको छ । 

मालपोत कार्यालयका प्रमुख कमलापति भट्टका अनुसार दुई वटा मोटरसाइक, कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका सामग्री ध्वस्त भएका छन् । झ्यालका सिसा फुटाइएका छन् । अनलाइन सूचीकृत नभएका मोठ ध्वस्त हुँदा अभिलेख पनि नष्ट भएका छन् । बुधबार बेलुकीसम्म सामग्री खरिद गरी सेवा सञ्चालन गरिने उनले  बताए । गत भदौ २४ गतेदेखि बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् । 

जनजीवन सामान्य बन्दै गएपछि सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि सञ्चालनमा आएका हुन् । 

यस्तै, डडेलधुरा कारागारमा आगजनी र तोडफोड गरेर भागेका ८५ जना कैदीबन्दीमध्ये आइतबारसम्म ७८ जना पक्राउ परेका छन् । भदौ २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदीबन्दीलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँबाट पक्राउ गरिरहेका छन् । १२७ जना कैदीबन्दी रहेको कारागारबाट ८५ जना भागेको कारागार प्रशासक सन्तोष भट्टले जानकारी दिए ।    
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update