Sagun Khabar
भूमी समस्या समाधान आयोग बैतडीले सदस्यहरुसँग गर्यो कार्यसम्पादन सम्झौता 

बैतडी –भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीले कार्ययोजना बनाएर सदस्यहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । 

सोमबार बसेको समितिको बैठकले अध्यक्षसहित सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गर्नुका साथै कार्यसम्पादन सम्झौता गरिएको भूमी समस्यमा समाधा आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेशदत्त पाण्डेयले बताए । 

भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीले आगामी माघ महिनासम्म गर्न सकिने कामको कार्ययोजना बनाएको र सोही अनुसार जिम्मेवारी बाँडफाँड गरिएको नापी कार्यालय बैतडीका प्रमुख एवं सदस्य सचिव रणबहादुर रावलले जानकारी दिए । 

जिल्लामा रहेका अव्यवस्थित बसोबासी, भूमीहिन सुकुम्बासी र भूमीहिन दलितहरुलाई लालपूर्जा वितरण गर्ने लक्ष्यसहित समितिले काम गरिरहेको अध्यक्ष पाण्डेयले बताए । 

स्थानीय तहहरुमा भूमी समस्या समाधान आयोग जिल्ला समितिको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन, स्थानीय तहहरुसँग समन्वय र सहकार्य गर्न अध्यक्षसहित सदस्यहरुलाई जिम्मेवारी तोकिएको अध्यक्ष पाण्डेयले बताए । 

पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका,मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा अध्यक्ष पाण्डेयले समितिकातर्फबाट काम गर्नेछन् । 

यस्तै पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकामा समिति सदस्य जगदीश नायकलाई जिम्मेवारी दिइएको छ भने दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा समिति सदस्य जानकी अवस्थीलाई जिम्मेवारी दिइएको छ । 

यस्तै पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा समिति सदस्य सरस्वती जोशीलाई जिम्मेवारी दिइएको छ । 

जिल्लाका १० ओटै स्थानीय तहमा रहेका अव्यवस्थित बसोबासी, भूमीहिन सुकुम्बासी र भूमीहिन दलितको लगत संकलन गरिसक्ने, असोजमा प्रमाणीकरणको काम गरिसक्ने, कार्तिकमा जग्गा छनौट तथा नापजाँच गरिसक्ने,मंसिरमा फिल्डबुक एवं श्रेष्ताको तयारी सक्ने र माघ महिनामा पूर्जा तयार गरि हस्तान्तरण गर्ने कार्ययोजना बनाएको अध्यक्ष पाण्डेयले बताए । 

जिल्लामा अहिलेसम्म २ हजार ३ सय ९१ जनाको निवेदन परेको र आयोगले असोज २ गतेसम्म अन्तिम पटकका लागि आवेदन आह्वान गरेको अध्यक्ष पाण्डेयले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update