
बैतडी –पछिल्ला बर्षहरुमा पहाडी जिल्लाहरुमा पनि डेङ्गीको जोखिम बढ्दै गएको छ ।
बैतडीमा यो बर्ष एक महिनाको अवधिमा सात जनामा डेङ्गी संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिकाका तीन जना, पुर्चौंडी नगरपालिकाका दुई जना, मेलौली र पाटन नगरपालिकाका एक÷एक जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए ।
गत बर्ष जिल्लाभरी १ सय ३१ जनामा डेङ्गी संक्रमण पुष्टि भएको थियो ।
पोथी जातको एडीस लामखुट्टेको टोकाइबाट डेङ्गी संक्रमण हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
बर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए ।
यस्तै जिल्लाभरीका पालिकाहरुले डेङ्गी संक्रमण रोकथामका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा ल्याएका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिकाले पालिकाभरी तीन महिने सरसफाइ अभियान सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।