Sagun Khabar
बैतडीको पाटनमा ‘ल्याण्ड पुलिङ’को काम अघि बढाउन स्थानीय सहमत 

बैतडी –बैतडीको पाटनमा ‘ल्याण्ड पुलिङ’अर्थात जग्गा एकीकरणको काम अघि बढाउन स्थानीयबासीहरु सहमत भएका छन् । नयाँ शहर आयोजना कार्यालयले बिहीबार स्थानीयहरुसँग छलफल गर्दा ल्याण्ड पुलिङका लागि उनीहरुले सहमति जनाएका हुन् । 

कार्यालयले बैतडीको पाटन नगरपालिका–६ को नङाडीबाटाको फल्दागैर भन्ने स्थानमा ल्याण्ड पुलिङको कामअघि बढाउन स्थानीयहरुसंग छलफल गरेको हो ।

बिहीबार भएको छलफलमा अधिकांश सहभागीहरुले ल्याण्ड पुलिङका जग्गा उपलब्ध गराउन सहमति जनाएको नयाँ शहर आयोजना कार्यालय पाटनका प्रमुख रुद्रनारायण दासले बताए । छलफलमा सहभागी २२ जनाले जग्गाधनीले ल्याण्ड पुलिङका लागि मञ्जुरीनामा समेत गरेका उनले बताए ।

सो क्षेत्रमा ३५ जना जग्गाधनी रहेका र उनीहरु ल्याण्ड पुलिङका लागि तयार रहेका बताइएको छ । नयाँ शहरका लागि ल्याण्ड पुलिङका गर्न आफुहरु तयार रहेको स्थानीय नारायणदत्त भट्टले बताए । 

ल्याण्ड पुलिङको कामले स्थानीयहरुले फाइदा पुग्ने भएकाले यसमा सहमति जनाएको अर्का स्थानीय हर्षदत्त भट्टले बताए । असहमत रहेकाहरुलाई समेत सहमतिमा ल्याएर काम अघि बढाइने उनको भनाइ छ । 

ल्याण्ड पुलिङका लागि स्थानीयहरुसँग थप समन्वय गर्न जग्गाधनी शंकर दत्त भट्टको सयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरिएको पाटन नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए । एक हप्ताभित्र समितिले जग्गाधनीसँग मञ्जुरीनामा गराउने, नागरिकता तथा जग्गाधनी पुर्जाको प्रतिलिपी संकलन गरि नयाँ शहर आयोजनाको कार्यालय उपलब्ध गराउनुपर्नेछ ।

वडा न ६ को फल्दागैर देखि नङाडीबाटा हुँदै गोइडाखोला सम्मको क्षेत्रमा ल्याण्ड पुलिङ गर्ने योजना छ । सोही अनुसार छलफल अघि सारिएको छ । 

छललफलमा वडा न ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट, जिल्ला समन्वय समिती सदस्य करन सिंह कठायत सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, र स्थानीय जग्गाधनीको सहभागिता रहेको थियो ।

यस क्षेत्रमा ल्याण्ड पुलिङ गराउने २०८० चैत्र १ गतेको नगर विकास समितीको बैठकबाट निर्णय गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update