
बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले पूर्वाग्रही कानुनी प्रयोग गरेको भन्दै शनिबार बैतडीको पाटनमा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।
सुदूरपश्चिमका सबै जिल्लामा हस्ताक्षर संकलन गर्ने अभियान अन्तर्गत भदौ ७ गते शनिबार बैतडीको पाटन खुलामञ्चमा अभियान सञ्चालन गरिने रास्वपा बैतडीका उपसभापति हेमन्त ऐरले बताए ।
उक्त अभियानमा रास्वपाका सचिवालय सदस्य दिपक बोहरा,सह प्रवक्ता रमेश प्रसाईँ, रास्वापका नेता प्रमोद न्यौपाने लगायतको सहभागिता रहने ऐरले बताए ।
सरकारले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाएको रास्वपाको आरोप छ । राजनीतिक प्रतिशोध विरुद्ध दोश्रो चरणको हस्ताक्षर अभियान सञ्चालन भइरहेको उपसभापति ऐरले बताए ।
राजनीतिक प्रतिशोधविरुद्ध सञ्चालन हुने हस्ताक्षर अभियानमा सहभागिताका लागि सबैलाई आग्रह गरिएको रास्वपा बैतडीले जनाएको छ ।