Sagun Khabar
बैतडीमा नयाँ उद्योग दर्तामा कमी, पुराना खारेजी गर्नेको संख्या बढ्दै 

बैतडी –बैतडीमा बर्षेनी उद्योग दर्ता गर्ने क्रम घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको तीन बर्षको तथ्यांक हेर्दा यहाँ नयाँ उद्योग दर्ता गर्ने क्रम घट्दै गएको छ । 

गएको तीन बर्षमा बैतडीमा ७ सय ५३ साना र मझौला उद्योग दर्ता भएका छन् । तर उद्योग दर्ताको संख्या प्रत्येक बर्ष घट्दो क्रममा रहेको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदले बताए । 

जिल्लामा कृषि,वन, आटामिल, मसला, अचार लगायतका उद्योग दर्ता भएका छन् । आर्थिक बर्ष २०७९÷८० मा ४ सय २७ उद्योग दर्ता भएको आर्थिक बर्ष २०८०÷८१ मा १ सय ९१ उद्योगमात्रै दर्ता भएका सूचना अधिकारी साउँदले बताए । 

गत आर्थिक बर्षमा १ सय ३५ ओटा मात्रै नयाँ उद्योग दर्ता भएका छन् । यस्तै गएको तीन बर्षमा बैतडीमा वाणिज्यतर्फ ३ सय ९९ ओटा फर्म दर्ता भएका छन् । आर्थिक बर्ष २०७९÷८०मा १ सय ६३ फर्म दर्ता भएकोमा आर्थिक बर्ष २०८०÷८१ मा १ सय ७३ ओटा फर्म दर्ता भएका थिए । 

गत आर्थिक बर्षमा ६३ ओटा मात्रै नयाँ फर्म दर्ता भएका सूचना अधिकारी साउँदले बताए । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा फर्महरु हरेक पाँच बर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । 

आर्थिक बर्ष २०७९÷८० मा २ सय ५१, आर्थिक बर्ष ०८०÷८१ मा २ सय ४ र गत आर्थिक बर्षमा २०८१÷८२ मा ३ सय ९३ उद्योग नवीकरण भएका उनले बताए । 

तीन वर्षको अवधिमा वाणिज्यतर्फका एक हजार १ सय २२ फर्म नवीकरण भएका छन् । 

जिल्लामा उद्योग र व्यवसाय दर्ता खारेज गर्ने क्रम पनि बढ्दै गएको छ । गएका तीन वर्षमा यहाँ दुई सय दुई उद्योग र व्यवसाय खारेज भएका छन् । 

युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायत कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको खारेज बढेको र दर्ता हुने सङ्ख्या घटेको  घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमराज भट्टले बताए ।

सरकारी सेवा सुविधा र अनुदानका  लागि मात्र पनि उद्योग दर्ता हुने गरेका र पछि अनुदान र सुविधा नपाउँदा खारेज गर्ने गरेका उनले बताए । 

त्यसैगरी, गएको तीन वर्षको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, खारेजलगायत शीर्षकबाट रु ७७ लाख छ हजार ७७८ रुपैयाँ  राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update