
बैतडी –बैतडीमा सिमेन्ट उद्योग खोल्ने तयारी भइरहेको छ । आइएमई समूहले दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको धर्मघरदेखि सुपलेको लेकसम्म १० वर्गकिलोमिटर क्षेत्रफलसम्म खोजतलासको लाइसेन्स प्राप्त गरेपछि सिमेन्ट उद्योगको तयारी थालिएको हो ।
सिमेन्ट उद्योग सञ्चालनको सबै तयारी पूरा भएर सडक विभागको स्थलगत निरीक्षणसहितको सहमति माग गरिएको आइएमई समूहका भूवैज्ञानिक प्रेम खड्काले जानकारी दिए । पहिलो चरणमा ३५ वर्षसम्मका लागि पुग्ने गरेर ६८ हेक्टर क्षेत्रफलमा रहेको चुनढुङ्गा उत्खननको प्रस्ताव गरिएको उनले बताए ।
अहिले महाकाली लोकमार्गसँग जोडिएको खानी उत्खनन गर्दा सडकलाई असर गर्ने वा नगर्ने विषयमा सडक विभागसँग राय माग गरिएको छ । उत्खनन हुने खानी महाकाली लोकमार्गबाट पाँच सय मिटर टाढा रहेकाले सडकलाई खासै असर नपर्ने सडक डिभिजन कार्यालय पाटन, बैतडीका इन्जिनियर लीलाधर भट्टले बताए । उद्योगमा २५ अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको बताइएको छ ।
सडक विभागसँग राय मागिएकाले स्थलगत रुपमै इन्जिनियरहरुको टोली पुगेर उक्त क्षेत्रमा अध्ययन गरेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए ।
प्रस्तावित खानीमा अनुमानित चार करोड ६५ लाख टन चुनढुङ्गा रहेको भूवैज्ञानिक प्रेम खड्काले बताए । खानीबाट दैनिक चार हजार पाँच सय टन चुन ढुङ्गा उत्खननको प्रस्ताव राखिएको छ । यहाँको ढुङ्गामा ५० प्रतिशत चुन (क्याल्सेसियम अक्साइड) र १.२ प्रतिशत म्याग्नेसियम अक्साइड भेटिएको छ । सिमेन्टका लागि यो मात्रा निकै प्रभावकारी हुने उनको भनाइ छ ।
नेपाल–भारत सीमानाका झुलाघाटबाट ३५ किलोमिटर पूर्वमा रहेको खानीनजिकै उद्योग स्थापना गरेर नेपालको सिमेन्ट विदेश निर्यात गर्ने लक्ष्य राखिएको छ । सिमेन्ट उद्योगलाई आवश्यक पर्ने फलामसमेत बैतडीमै भेटिएको छ । सिमेन्ट उद्योगलाई आवश्यक पर्ने म्याग्नाइट आइरन बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा भेटिएपछि उद्योगी थप उत्साहित भएका छन् । फलाम खोजतलास गर्ने अनुमति पाएको नेपाल जिन्दु माइनिङले सुगरखालमा पत्ता लगाएको खानीमा ३८ प्रतिशत फलाम भेटिएको जनाएको छ ।