
बैतडी–बैतडीको पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलङ्गामा भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ ।
विद्यालयको जीर्ण भवनमै कार्यालय र कक्षा सञ्चालन गर्नुपरिरहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए ।
कक्षा १२ सम्मको पढाई हुने सिद्धनाथ मावि सिलङ्गामा १० कोठे पुरानो भवन र ६ कोठे नयाँ भवन रहेको छ ।
नयाँ भवन पार्याप्त नभएका कारण विद्यालयको कार्यालय, कम्प्युटर ल्याब र कक्षाहरु पुरानो भवनमै सञ्चालन गर्नुपर्ने अवस्था रही आएको छ । २०४२ सालतिर स्थानीयहरुले जनश्रमदानमा निर्माण गरेको भवन जीर्ण हुनुका साथै छानो चुहिने हुँदा समस्या भएको प्रधानाध्यापक बोहराले बताए । पत्थरले छाएको छानो बर्खाको समयमा चुहिने गरेको छ ।
बर्खाको समयमा विद्यालयको छानो चुहिएपछि महत्वपूर्ण कागजात र दस्ताबेजहरु भिजेर नष्ट भएका छन् । अहिले विद्यालयको छानोमा प्लास्टिक हालेर काम चलाउनु परिरहेको प्रधानाध्यापक बोहराले बताए । उनले भने, ‘सिद्धनाथ मावि यो क्षेत्रकै पुरानो विद्यालय हो । तर भवन अभावमा हामीहरुले धेरै समस्या भोग्नुपरिरहेको छ । जीर्ण भवन चुहेर महत्वपूर्ण कागजपत्र नष्ट भएका छन् ।’
विद्यालयमा भवन अभावका बिषयमा सरोकारवाला निकायलाई बारम्बार जानकारी गराउँदा समेत समस्या समाधान नभएको प्रधानाध्यापक बोहराको भनाइ छ । भवन अभावमा अन्य समस्याहरु समेत खेप्नुपरेको उनले बताए ।
२००६ सालमा स्थापना भएको सिद्धनाथ मावि सिलङ्गामा अहिले ३ सय ९० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।