Sagun Khabar
पाटनमा ‘ल्याण्ड पुलिङ’को काम अघि बढेन, नयाँ शहर आयोजना कार्यालय खारेज हुने जोखिम 

बैतडी–बैतडीको पाटनमा ‘ल्याण्ड पुलिङ’को काम अघि नबढ्दा नयाँ शहर आयोजनाको कार्यालय खारेज हुने जोखिम बढेको छ । 

आर्थिक बर्ष २०६७÷६८ मा सरकारले पाटनसहित देशका १० ओटा शहरलाई नमूना शहर बनाउने घोषणा गरेको थियो । तर पाटनलाई नमूना शहर बनाउने घोषणा गरेको १५ बर्ष बितिसक्दा समेत ल्याण्ड पुलिङ अर्थात जग्गा एकीकरणको काम अघि बढ्न सकेको छैन् । 

पहाडबाट भइरहेको तीव्र बसाइसराई रोक्ने उद्देश्यका साथ पाटनलाई आधुनिक शहर बनाउने योजनासहित काम शुरु गरिएको भएपनि ल्याण्ड पुलिङको काम अघि नबढ्दा कार्यालय नै खारेज हुने जोखिम बढेको आयोजना प्रमुख रुद्रनारायण दासले बताए । 

पाटन नयाँ शहर अन्तर्गत ल्याण्ड पुलिङको काम अघि बढाउन नगरपालिकाले पहल गर्नुपर्ने हुन्छ । स्थानीयहरुसँग सहमति गरेर ल्याण्ड पुलिङको काम अघि बढाउन र काम अघि बढ्न नसके यथाशीघ्र जानकारी गराउन मन्त्रालयबाट मौखिक आदेश आइसकेको आयोजना प्रमुख दासले बताए । 

नगरप्रमुखको सयोजकत्वमा रहेको नगर विकास समितिले स्थानीयसँग समन्वय गरी सहमति जुटाउनुपर्नेमा हालसम्म ठोस सहमति हुन नसकेको उनको भनाइ छ । स्थानीयको सहमति जुटाउने प्रयास भइरहेको बताउँदै उनले नगर विकास समिति र जनप्रतिनिधिलाई समस्या समाधानका लागि समन्वय गरिदिन आग्रह गरे । 

ल्याण्ड पुलिङका लागि वडा नं ६ को नङाडीबाटाका नागरिकसँग छलफलको तयारी भइरहेको पाटन नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले जानकारी दिए । बिहीबार उनीहरुसँग छलफल हुने उनले बताए । 

व्यक्तिहरुको स्वामित्वमा रहेको जग्गालाई उनीहरुकै सक्रियता सहभागितामा बाटोघाटो लगायतका पूर्वाधारहरु बनाएर फेरि स्थानीयहरुलाई फिर्ता गर्ने कार्य ल्याण्ड पुलिङ अन्तर्गत गरिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update