
काठमाण्डौ – अस्ट्रेलियामा चलिरहेको टप एण्ड टी–२० श्रृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल आज मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । मेलबर्नले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले सात विकेट गुमाएर एक सय ४४ रन मात्रै बनाउन सक्यो ।
नेपालका आशिफ शेखले ५३ रनसहित अर्धशतक बनाए । यस्तै कप्तान रोहितकुमार पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन बनाए । मेलबर्नका डग वारेन र अस्टिन एन्लेजाकले समान दुई तथा आर्यन शर्मा र क्रिस होवे समान एक विकेट लिए ।
त्यसअघि डार्बिनमा टस जितेर ब्याटिङ गरेको मेलबर्नले सात विकेट गुमाउर एक सय ७५ रन बनायो । मेलबर्नका ब्लेक म्याकडोनाल्डले ७४ रन र थोमस रोजर्सले ६५ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिए ।
योसँगै प्रतियोगीमा नेपाल लगातार तेश्रो पटक पराजित भएको छ । नेपाल आफ्नो दोस्रो खेलमा अस्ति बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो । पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो ।
प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत नेपालले भोली होबर्ट हुरिकेन्ससँग, पर्सि ४ गते मेलबर्न रेनेगेड्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ ।
अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।