Sagun Khabar
बैतडीको पुर्चौंडीमा मंगलबार शोक बिदा 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाले मंगलबार शोक बिदा दिएको छ । 

नगरपालिका अन्तर्गत वडा नं १० को विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी भागरथी कुँवरको असमायिक निधन भएकाले मंगलबार शोक बिदा दिएको हो । 

नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा अनमी कुँवरको निधनले पुर्चौंडी नगरपालिकाले एक इमान्दार, कर्तव्यनिष्ठ र होनहार स्वास्थ्यकर्मी गुमाएको उल्लेख गरिएको छ । 

पुर्चौंडी नगरपालिकाकी कार्यवाहक नगर प्रमुख मीना धानुक र निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जारी गरेको शोक वक्तव्यमा मंगलबार नगरपालिका मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतमा शोक बिदा रहने उल्लेख गरिएको छ । 

विजयपुर स्वास्थ्यचौकीमा कार्यरत २४ बर्षीया अनमी भागरथी कुँवर आइतबार राति आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । 

कुँवरले आत्महत्या गर्नुको कारण खुलीनसकेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

गत वैशाखमा मात्रै विवाहबन्धनमा बाँधिएकी मृतक कुँवरका श्रीमान नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमा कार्यरत रहेका छन् । 

यसैबीच पुर्चौंडी बहुमुखी क्याम्पसले पनि मंगलबार क्याम्पसमा शोक बिदा दिएको छ । क्याम्पसमा स्नातक तह चौथो बर्षमा अध्ययन छात्रा भागरथी कुँवरको निधन भएकाले शोक बिदा दिएको क्याम्पसले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ । 

sok-1755514143.jpg

Purchudi-campus-1755514165.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update