
बैतडी–बैतडीमा स्थानीय तहहहरुमै शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम भइरहेको छ । जेष्ठ नागरिकहरुको समस्यालाई ध्यानमा राखेर स्थानीयस्तरमै विवरण संकलनको काम भइरहेको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय पुर्चाैडीबाट सञ्चालन हुँदै आएको परिचयपत्र विवरण सङ्कलनको कार्यलाई स्थानीय तहमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्ने प्रक्रियालगायत विभिन्न सरकारी तथा गैरसरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले नागरिकले परिचय पत्र बनाउनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्यका लागि स्थानीय तहमै विवरण संकलनको काम भइरहेको हो ।
अहिले शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिविरमार्फत राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
यसअघि पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा शिविरमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइसकेको छ ।
पुर्चाैंडी नगरपालिकामा इलाका प्रशासन कार्यालयमार्फत तथा दशरथचन्द नगरपालिकामा जिल्ला प्रशासन कार्यालय मार्फत परिचयपत्र वितरणको काम निरन्तर रुपमा भइरहेको छ ।
पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा पनि छिटै शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम अघि बढ्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालयले नागरिकको सुविधालाई प्राथमिकतामा राख्दै राष्ट्रिय परिचयपत्र वितरण र विवरण सङ्कलनमा अझै छरितो र प्रभावकारी सेवा प्रवाहमा जोड दिएको छ । यस कार्यबाट जिल्लाका सबै नागरिकले सरकारी सेवा तथा विभिन्न अवसरहरूमा परिचयपत्रको सहज पहुँच पाउने विश्वास व्यक्त गरिएको छ ।
स्थानीय तहमै परिचयपत्रको विवरण संकलनको काम शुरु भएपछि स्थानीय नागरिकलाई सहज भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।