
बैतडी–बैतडीको जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक दुर्गा ठगुन्नालाई उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित गरिएको छ ।
नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)को ३८ औं बार्षिकोत्सवको अवसरमा ठगुन्नालाई सुदूरपश्चिमकै उत्कृष्ट व्यवस्थापकको रुपमा नगदसहित सम्मान गरिएको हो ।
शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकालले ठगुन्नालाई पुरस्कारसहित सम्मान गरेका हुन् ।
नेफ्स्कूनले आफ्नो बार्षिकोत्सवको अवसरमा सातओटै प्रदेशका एक÷एक जना उत्कृष्ट व्यवस्थापकहरुलाई सम्मान गरेको हो ।
सुदूरपश्चिमका सहकारी संस्थामा कार्यरत व्यवस्थापकमध्ये उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित हुन पाउँदा निकै खुशी लागेको ठगुन्नाले बताइन् । गएको १५ बर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील ठगुन्नाले अबका दिन थप सक्रियताका साथ काममा लाग्ने बताइन् ।
महिलाहरुको नेतृत्वमा स्थापना भएको जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थामा अहिले १ हजार ५४ जना शेयर सदस्य आवद्ध भएका छन् । सहकारी संस्थाको कुल सम्पत्ति ३ करोड ७५ लाख रुपैयाँ रहेको व्यवस्थापक ठगुन्नाले बताइन् ।