
बैतडी –नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रमा कार्यरत दुईजना कर्मचारी सम्मानित भएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ४० औं बार्षिकोत्सवको अवसरमा बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखक र फोरम्यान लोकराज लेखक ‘दीर्घ सेवा पदक’बाट सम्मानित भएका हुन् ।
नेपाल विद्युत प्राधिकरणले २० बर्षभन्दा माथि सेवा गरेका कर्मचारीहरुलाई ‘दीर्घ सेवा पदक’बाट सम्मानित गर्दै आएको छ ।
शुक्रबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई उर्जा मन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सम्मानित गरेका हुन् ।
प्राधिकरणमा निरन्तर २० बर्षभन्दा बढी सेवा गरेको भन्दै लेखकद्वयलाई दीर्घ सेवा पदक र कदर पत्र प्रदान गरिएको छ ।
विद्युत प्राधिकरणले गरेको सम्मानले आफूहरुलाई कार्यक्षेत्रमा थप हौसलासहित खटिने उत्प्रेरणा जागेको सुपरभाइजर माधवप्रसाद लेखकले बताए ।
दुवै जना २०६१ सालदेखि नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहेका छन् ।