
बैतडी–शिक्षकहरुसँग करार सम्झौता नगराउन माग गर्दै बैतडीमा क्रियाशील शिक्षक संघ–संगठनहरुले ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले करार सम्झौताको कार्य कार्यान्वयन नगर्न ÷नगराउन आग्रह गरेका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा विकास तथा मानव श्रोत केन्द्रलाई पठाएको पत्र र त्यसै आधारमा शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले स्थानीय तहहरुमा पठाएको पत्र अनुसार सामुदायिक विद्यालयमा कार्यरत बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुले सम्बन्धित स्थानीय तहहरुसँग करार सम्झौता गर्नुपर्ने उल्लेख गरिएको छ ।
करार सम्झौता गर्ने कार्य शिक्षा नियमावलीको विरुद्धमा रहेको र बर्षौंदेखि सामुदायिक विद्यालयमा कार्यरत रहेका अस्थायी प्रकृतिका शिक्षकहरुलाई पाखा लगाउने षडयन्त्र भएकाले आफूहरुले करार सम्झौता कार्य नगर्न ÷नगराउन आग्रह गरेर ज्ञापन पत्र बुझाएको नेपाल राहत शिक्षक जिल्ला कार्यसमितिका सचिव रामचन्द्र जोशीले बताए ।
बालविकास कक्षा शिक्षक, विद्यालय कर्मचारी र राहत अनुदानमा कोटामा कार्यरत शिक्षकहरुको मागमा जिल्लामा क्रियाशील संघसंगठनहरुले ऐक्यबद्धता जनाएका छन् ।
शुक्रबार नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, विद्यालय कर्मचारी जिल्ला समिति र राहत शिक्षक जिल्ला कार्यसमितिका तर्फबाट संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको जोशीले बताए ।
आफूहरुका मागका बिषयमा बेवास्ता गरेमा सबै ट्रेड युनियनहरु एकजुट भई आन्दोलन गर्ने र यसबाट सिर्जना हुने समस्याको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै दशरथचन्द नगरपालिकाको शिक्षा शाखालाई पनि ज्ञापत्र पत्र बुझाइएको छ । बालविकास कक्षा शिक्षक, विद्यालय कर्मचारी र राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुलाई करार सम्झौताका लागि बाध्य नपार्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको बताइएको छ ।
जिल्लाका सबै स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जोशीले बताए ।
बैतडीमा मात्रै ५ सय ५६ जना राहत अनुदान कोटामा कार्यरत शिक्षक रहेका छन् । त्यसकै हाराहारीमा बालविकास शिक्षक र विद्यालय कर्मचारी रहेका बताइएको छ ।