
बैतडी –बैतडीको शिवनाथ गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि आजदेखि दर्ता शिविर सञ्चालन भएको छ ।
भदौ २४ गतेसम्म गाउँपालिकाको कार्यालयमा राष्ट्रिय परिचयत्र पत्रको विवरण संकलन हुने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि गाउँपालिकाले विवरण संकलनका लागि दर्ता शिविर सञ्चालन गरेको हो ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि जेष्ठ नागरिकहरुलाई सदरमुकामसम्म पुग्न समस्या हुने भएकाले गाउँपालिकामै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष साउँदले बताए ।
जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन भइरहेको हो ।
शिविरमा आउँदा आवेदकले नागरिकताको सक्कल प्रति ल्याउनुपर्ने ,विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र वा नागरिकतामा श्रीमान नाम उल्लेख भएको हुनुपर्ने, श्रीमान÷श्रीमतीको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ल्याउनुपर्ने र बसाइसराई गरेको भए बसाइसराई गरेको सक्कल प्रति ल्याउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिए ।
वडा नं ६ का नागरिकहरुका लागि आज र भोलि शिविरमा विवरण संकलनको काम हुने बताइएको छ । यस्तै भदौ २ देखि ४ गतेसम्म वडा नं ५ का नागरिकहरुको विवरण संकलन गरिनेछ ।
यस्तै भदौ ५, ६ र ९ गते वडा नं ४, भदौ १० र ११ गते वडा नं ३, भदौ १२,१३, १६ र १७ गते वडा नं २ र भदौ १८,१९, २०, र २२ गते वडा नं १ का नागरिकको विवरण संकलन गरिनेछ ।
भदौ २३ र २४ गते पालिकाभरी छुटेका नागरिकहरुको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम हुने प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।
जिल्लाका सबै स्थानीय तहमा शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरणको काम संकलन गरिने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । केही पालिकाहरुमा विवरण संकलनको काम भइरहेको, केहीमा विवरण संकलनको काम सकिएको र बाँकी रहेका पालिकाहरुमा पनि शिविर सञ्चालन गरिने उनले बताए ।