
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित महारुद्र बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा पुनः विष्णुदत्त भट्ट चयन भएका छन् ।
बुधबार सम्पन्न सहकारी संस्थाको २८ औं बार्षिक साधारण सभाले भट्टको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको सहकारी संस्थाका व्यवस्थापक खेमराज भट्टले जानकारी दिए ।
उक्त समितिको उपाध्यक्षमा कमला भट्ट, सचिवमा जगदीशप्रसाद भट्ट, कोषाध्यक्षमा गंगादत्त भट्ट लगायत अन्य सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका सहकारी संस्थाकी सहव्यवस्थापक बिष्ना भाटले बताइन् ।
२०५३ सालमा स्थापना भएको सहकारी संस्थामा १ सय २२ महिला र २ सय १२ जना पुरुष गरेर ३ सय ३४ जना शेयर सदस्य रहेका छन् । यस्तै १ सय ३४ जना बालबचतकर्ता रहेका छन् । यस्तै संस्थामा १३ ओटा संस्थागत बचत रहेका व्यवस्थापक भट्टले बताए ।
साधारण सभामा आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक भट्टले सहकारी संस्थाको शेयर पूँजी ३ लाख ९३ हजार ४ सय रुपैयाँ रहेको जानकारी दिए ।
यस्तै सहकारी संस्थाको बचत रकम १ करोड १२ लाख ८९ हजार ९ सय ६५ रुपैयाँ पुगेको छ भने १ करोड ३ लाख ७५ रुपैयाँ ऋण लगानी रहेको बताइएको छ ।
सहकारी संस्थाको बार्षिक साधारण सभामा प्रमुख अतिथी रहेका दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टले महारुद्र बचत तथा ऋण सहकारी संस्था यो क्षेत्रकै उत्कृष्ट संस्थाको रुपमा रहेको बताए । महारुद्र बचत तथा ऋण सहकारी संस्थाले सहकारी संस्थाहरुको साख बचाएको भन्दै उनले प्रशंसा समेत गरे ।
सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले सहकारी संस्थालाई राम्रोसँग सञ्चालन गर्न सबै शेयर सदस्यहरुको सहभागिता उत्तिकै आवश्यक रहेको बताए ।
महारुद्र बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो समयमा अनलाइन प्रणालीमार्फत काम गरिरहेको बताउँदै उनले आगामी दिनमा झन् परिष्कृत बनाएर अघि बढ्ने बताए ।
सहकारी संस्थाले अनलाइन कारोबार गर्नुका साथै शेयर सदस्यहरुको मोबाइलमा एसएमएसमार्फत कारोबारको बारेमा जानकारी दिने गरेको छ ।