Sagun Khabar
विद्यार्थी खोज्दै जगन्नाथ बहुमुखी क्याम्पस 
फोटो :निङ्गलाशैनी माविमा अन्तरक्रिया र छलफलपछि जगन्नाथ बहुमुखी क्याम्पस र विद्यालयको टीम

बैतडी–बैतडीको गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसले स्नातक तहका लागि विद्यार्थी खोज्ने अभियान शुरु गरेको छ । 

विगतको तुलनामा उच्च शिक्षा हाँसिल गर्नेको संख्यामा कमी आउन थालेपछि आसपासका विद्यालयमा पुगेर विद्यार्थीहरुलाई भर्नाका लागि उत्प्रेरणा दिन थालिएको क्याम्पस प्रमुख डाक्टर सुरेन्द्रकुमार बमले बताए । उनले भने, ‘पछिल्लो समयमा स्नातक तहमा भर्ना हुनेको संख्या घट्दै गएको छ । हामीले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउन विद्यालयहरुमै पुगेर छलफल तथा अन्तरक्रिया गर्न थालेका छौं ।’

क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनको पहलमा दशरथचन्द नगरपालिकाभित्रका कक्षा १२ सम्म पढाइ हुने विद्यालयहरुमा पुगेर अन्तरक्रिया तथा छलफल गर्ने कार्य शुरु भएको स्ववियु अध्यक्ष रोशन भट्टले बताए । 

सोमबार दशरथचन्द नगरपालिकाभित्र रहेका निङ्गलाशैनी मावि देहीमाण्डौं, मणिलेक मावि गुरुखोला, जोशीबुङ्गा मावि लमौता र केदारनागार्जुन मावि बगलेखानमा पुगेर अन्तरक्रिया र भेटघाट गरिएको क्याम्पस प्रमुख बमले बताए । 

कक्षा १२ को परीक्षाफल प्रकाशित भएपछि उत्तीर्ण भएका विद्यार्थीहरुलाई क्याम्पसमा भर्ना हुन आग्रह गर्दै छलफल तथा भेटघाट गरिएको स्ववियु अध्यक्ष भट्टले बताए । अन्य विद्यालयहरुमा पनि छलफल र भेटघाटलाई निरन्तरता दिने उनले बताए । 

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको जगन्नाथ बहुमुखी क्याम्पस यो क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको छ । यो क्याम्पसमा अहिले स्नातक र स्नातोकोत्तर तहको पढाइ हुने गरेको छ ।

स्नातक तहमा शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानिविकी तथा समाजशास्त्र संकायमा पढाइ हुने गरेको जगन्नाथ बहुमुखी क्याम्पसमा स्नातोकोत्तर तहमा शिक्षा शास्त्र संकायमा पढाइ हुने गरेको छ । 

स्नातक तह पहिलो बर्षका लागि भर्ना खुलेकाले विद्यालयहरुमा गएर विद्यार्थी भर्नाका लागि छलफल र अन्तरक्रिया गर्ने गरिएको क्याम्पसका उपप्राध्यापक पृथ्वीराज अवस्थीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update