 
                                                                    बैतडी –बैतडीको शिखरपुर स्वास्थ्यचौकीबाट एक बर्षको अवधिमा ५ हजार बढी नागरिकले सेवा लिएका छन् ।
सुर्नया गाउँपालिका–७ स्थित शिखरपुर स्वास्थ्यचौकीबाट एक बर्षको अवधिमा ५ हजार ५७ जनाले सेवा लिएको जानकारी दिइएको छ । सोमबार स्वास्थ्यचौकीले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो ।
शिखरपुर स्वास्थ्यचौकीमा एक बर्षमा ३५ जना आमाले सुरक्षित प्रसूती सेवा लिएको स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले बताए । स्वास्थ्यचौकीले चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा दिइरहेको उनले बताए ।
यस्तै स्वास्थ्यचौकीले गत आर्थिक बर्षमा आफ्नो सेवा क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २ सय ५० जना किशोरीहरुको रक्त अल्पता परीक्षण गरेको थियो । रक्त अल्पता परीक्षणका क्रममा ६ जनामा रक्त अल्पताको समस्या देखिएपछि खानपानमा ध्यान दिन सुझाव दिइएको थियो ।
यस्तै समुदायमा नसर्ने रोगको पहिचानका लागि सेवा क्षेत्रभित्र अभियान सञ्चालन गरेको र २ सय ८० जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्यचौकीका प्रमुख बोहराले बताए । स्वास्थ्यचौकीले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रम समेत सञ्चालन गरेको जनाएको छ ।
यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य संस्थाको आयव्यय विवरण समेत सार्वजनिक गरिएको थियो ।
शिखरपुर स्वास्थ्यचौकीले गत आर्थिक बर्षमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै स्वास्थ्यचौकीका कार्यालय सहयोगी हरिसिंह साउँदलाई सम्मान गरेको छ । प्रशंसा पत्रसहित उनलाई दोसल्ला ओढाएर सम्मान गरिएको बोहराले बताए ।
चालु आर्थिक बर्षमा पनि स्वास्थ्यचौकीले विगतका कामहरुलाई निरन्तरता दिने जनाएको छ । कुपोषण पत्ता लगाउन अभियान सञ्चालन गर्ने, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, किशोरीहरुको रक्तअल्पता परीक्षण कार्यक्रमलाई निरन्तरता दिइने बोहराले बताए ।
स्वास्थ्यचौकीले बालरोगको एकीकृत व्यवस्थापन सेवा, किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा, पोषण सेवा, नसर्ने रोगको व्यवस्थापन सेवा, परिवार नियोजन सेवा, किशोरीहरुलाई आइरन चक्की वितरण सेवा, सुरक्षित मातृत्व सेवा लगायतका सेवाहरु नियमित रुपमा प्रदान गरिरहेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष भक्तबहादुर कुँवरले स्वास्थ्यचौकीले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउन आफूले सक्दो पहल गर्ने बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका सदस्य, जनप्रतिनिधि, स्वास्थ्यचौकीका कर्मचारी, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो । 
 




 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    