Sagun Khabar
बैतडीको सकार स्वास्थ्यचौकीबाट एक बर्ष ६ हजार बढीले सेवा लिए 

बैतडी –बैतडीको पाटन नगरपालिका–१ स्थित सकार स्वास्थ्यचौकीबाट एक बर्षको अवधिमा ६ हजार बढी नागरिकले सेवा लिएका छन् । 

गत आर्थिक बर्षमा स्वासथ्यचौकीबाट ६ हजार ६ सय ५२ जनाले सेवा लिएको स्वास्थ्यचौकीका प्रमुख नरेन्द्रराज भट्टराईले जानकारी दिए । 

शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै गत आर्थिक बर्षमा स्वास्थ्यचौकीबाट प्रदान गरिएका सेवा र सम्पादन गरिएको कामहरुको बारेमा जानकारी गराइएको उनले बताए । 

स्वास्थ्यचौकीमा गत आर्थिक बर्षमा ४१ जना आमाले सुरक्षित प्रसूती सेवा लिएको स्वास्थ्यचौकी प्रमुख भट्टराईले बताए । 

स्वास्थ्यचौकीले उपचारात्मक सेवाका साथै विभिन्न सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । 

स्वास्थ्यचौकीले बालरोगको एकीकृत व्यवस्थापन सेवा, किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा, पोषण सेवा, नसर्ने रोगको व्यवस्थापन सेवा, परिवार नियोजन सेवा, प्रयोगशाला सेवा, लैङ्गिक हिंसा रोकथाम कार्यक्रम, किशोरीहरुलाई आइरन चक्की वितरण सेवा, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व सेवा लगायतका सेवाहरु नियमित रुपमा प्रदान गरिरहेको छ । 

सकार स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्य संस्थाका साथै किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको रुपमा समेत रहेको छ । 

यसका साथै स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र घरमा हुने सुत्केरी शून्य रहेको स्वास्थ्यचौकी प्रमुख भट्टराईले बताए । स्वास्थ्यचौकीले चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा प्रदान गरिरहेको उनले बताए । 

स्वास्थ्यचौकीले चालु आर्थिक बर्ष २०८२÷८३ मा खोप क्लिनिक, गाउँघर क्लिनिकलाई विस्तारसहित निरन्तरता दिने योजना बनाएको छ । नसर्ने रोग र क्षयरोग खोजपड्ताल कार्यक्रमलाई निरन्तरता दिने स्वास्थ्यचौकीले जनाएको छ । 

यसका साथै प्रयोगशाला सेवालाई निरन्तरता दिने योजना रहेको स्वास्थ्यचौकी प्रमुख भट्टराईले बताए । 

स्वास्थ्यचौकीले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक पहल गर्ने स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पाटन नगरपालिका–१ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update