
बैतडी - जिल्ला प्रशासन कार्यालय बैतडीले हालसालै भइरहेको लगातार वर्षाका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपदको जोखिम बढेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले जानकारी दिदै मनसुनजन्य विपदका सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, रातको समयमा जोखिमयुक्त स्थानहरूमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कता पूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको हो।बैतडी जिल्लाका धेरै भूभाग पहिरोको उच्च जोखिममा छन्। सानो असावधानीले पनि ठूलो क्षति निम्त्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउने पर्ने प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।
प्रशासनले स्थानीय तहहरूसँग समन्वय गर्दै विपद् व्यवस्थापन समिति सक्रिय बनाएको जनाएको छ। साथै, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत तयारी अवस्थामा राखिएको बताइएको छ । आम नागरिकलाई अनावश्यक यात्रा नगर्न, घर छाड्दा परिवारलाई जानकारी गराउन, मोबाइल तथा संचारका साधन चार्ज गरेर राख्न, आवश्यक कागजात सुरक्षित राख्न तथा आकस्मिक उद्दारका लागि तयार रहन समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
यस्तै, सम्भावित विपद्का घटनाबारे तत्काल नजिकको सुरक्षाकर्मी वा वडा कार्यालयमा जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको हो। बिगत वर्षहरूमाजस्तै यस वर्ष पनि मनसुन अवधिभर प्रशासनले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘डिजास्टर अलर्ट’ प्रणाली, सूचना प्रवाह तथा उद्दार संयन्त्रलाई प्राथमिकतामा राखेको जनाएको छ। मनसुनको समयलाई संवेदनशील मान्दै प्रशासनले नागरिक, सञ्चारकर्मी, संघसंस्था, रेडक्रस तथा स्थानीय स्वयंसेवकहरूलाई एकीकृत रूपमा विपद् व्यवस्थापनमा सहकार्य गर्न समेत जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।