
बैतडी- बैतडीको पाटन नगरपालिकामा भएको अनियमितता भनिएका विषयमाथी छानबिन गर्न सहमती जुटेको छ । आज नगरपालिकामा बसेको सर्बदलीय बैठकबाट छानबिन समिति गठन गर्ने सहमती जुटेको नेकपा एमालेका पाटन नगर कमिटि इञ्चार्ज धर्मानन्द भट्टले बताए ।
आजको मितिले ७ दिनभित्र कार्यपालिका बैठकबाट नगरस्तरीय छानबिन समिति गठन गर्ने र हालसम्म उठेका विषयमाथी अध्ययनगरी छानबिनको प्रक्रिया अघि बढाउने सहमती भएको भट्टले बताए ।
आजको सर्बदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख एवं प्रतिनिधि सहभागि थिए । उक्त बैठकमा नगरपालिकाको तर्फबाट नगर प्रमुख गौरी सिंह रावल, उपप्रमुख कमल सिंह बोहरा, प्रमुख प्रसासकीय अधिकृत नारायण बहादुर बिष्ट सहभागि थिए ।
हाट बजार निर्माण, कोसेलीघर निर्माण, सेफ हाउस घरको पर्खाल निर्माण, फोहोरमैला व्यवस्थापन केन्द्रमा भएको नियमविपरितको भुक्तानी, नगरपालिकासँग जोडिएका अति गोप्य कागजातलाई सामाजिक सञ्जालमा सार्वजनिक गरिएका विषयमाथि छानबिन गरिनुपर्ने आवाज उठेका थिए ।
गत असार २६ गते लेखासाखामा नगर उपप्रमुख कमल सिंह बोहराको नेतृत्वमा तालाबन्दी गरिएपछि थप आन्दोलन भएका थिए । बिना कागजात भुक्तानी भएको, नियमानुसार भुक्तानी नभएको, काम बिना नै भुक्तानी भएको लगायतका अनियमितता भएको भन्दै तालाबन्दी भएको थियो ।
ती विषयहरुमाथि छानबिन हुनुपर्ने भन्दै राजनितिक दलहरुले विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रमहरु समेत भएका थिए ।