
बैतडी - सुदूरपश्चिमका पहाडी समुदायमा आज गौरा एकादशी पर्व मनाइँदैछ ।
हरेक बर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । आजको दिन गौरा उपासना गर्ने महिलाहरुले ब्रत बस्ने गर्दछन् । गौरा पर्व उपासना गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा रही आएको छ। पहिलो पटक गौराको ब्रत लिने महिलाहरुले अनिवार्य रुपमा गौरा एकादशीको ब्रत उपासना गर्नुपर्ने परम्परा रहिआएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए ।
गौरा उपासना गर्ने महिलाहरुले आज ब्रत बसेर साँझको समयमा पूजाआजा गर्ने चलन रही आएको छ । गौरामा दुवधागो धारण गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीबाटै गौरा पर्व शुरुवात भएको मान्ने गरिएको छ । गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मात्रै गौरा पर्व मनाउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य लेखकले जानकारी दिए ।
गौराको ब्रत लिनु अघि गौरा एकादशीको ब्रत लिने परम्परा रही आएको छ । पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत लिने चलन रही आएको पण्डित ज्योतिषाचार्य गणेश प्रसाद पन्तले बताए । गौरा एकादशी र जनैपूर्णिमा पछि गौरा पर्व मनाउने परम्परा रही आएको ज्योतिषाचार्य पण्डित पन्तले बताएका छन।
हिन्दु परम्परा अनुसार गौरा एकादशी र जनैपूर्णिमा पछि दुबधागो धारण गर्ने परम्परा रही आएको छ । श्रावण शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई नै गौरा एकादशीको रुपमा मान्ने गरिएको छ । सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिका लागि गौरा पर्व मनाइने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा मान्ने गरिएको आचार्य लेखकले बताए ।
यो एकादशीको महत्वका बारेमा देवकी र वासुदेवलाई लोमष ऋषिले सुनाएका प्रसंग पूराणहरुमा उल्लेख गरिएको छ । यो एकादशीको ब्रत उपासना गरेमा सन्तान प्राप्ति हुने जनविश्वास रही आएको छ । गौरा पर्वमा पनि सन्तान सुख र पारिवारिक कल्याणका लागि महिलाहरुले ब्रत लिने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशी भनिएको ज्योतिषाचार्य पण्डित पन्तको भनाइ रहेको छ ।
हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथीबाट गौरा पर्व शुरु हुने गर्दछ । त्यो भन्दा अगाडि साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत बस्ने चलन रही आएको हो । भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ । यो बर्ष भाद्र शुक्ल पक्षमा गौरा परेको छ । यो बर्षको गौरा भदौ १२ गतेदेखि शुरु हुँदैछ । यो वर्षको गौरा पर्व भदौ १२ गते बिरुडा पञ्चमी , भदौ १३ गते नोल्या / गंगा गौरा , भदौ १४ गते भितल्ली सन्ज्या गौरा , भदौ १५ गते भाइरकी लोलि गौरा (अठेवाली ) रहेको बताइएको छ ।