Sagun Khabar
बैतडीको भौनेली स्वास्थ्यचौकीबाट एक बर्षमा ४ हजार बढीले सेवा लिए 

बैतडी –बैतडीको भौनेली स्वास्थयचौकीबाट ४ हजार बढी नागरिकले सेवा लिएका छन् । 

जिल्लाको सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीबाट एक बर्षको अवधिमा ४ हजार ३ सय ८० जनाले सेवा लिएका स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । 

स्वास्थ्यचौकीले आर्थिक बर्ष २०८१÷८२ को बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य संस्थाबाट ३ हजार १८ जनाले उपचारात्मक सेवा लिएको जनाएको छ । 

स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र मातृ स्वास्थ्य सेवा, नवजात शिशु सेवा, खोप सेवा,  पोषण सेवा, परिवार नियोजन सेवा लगायतका सेवाहरु प्रदान गरिएका महराले बताए । 

स्वास्थ्यचौकीले आफ्नै पहलमा टोलटोलमा पुगेर नसर्ने रोगको पहिचानका लागि घरधुरी अभियान सञ्चालन गरेको उनले बताए । यस्तै किशोरीहरुका लागि विद्यालयमै गएर आइरन चक्की वितरण लगायत विभिन्न जानकारीमूलक कार्यक्रम समेत सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

भौनेली स्वास्थ्यचौकी जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था मध्ये रहेको बताइएको छ । किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको रुपमा रहेको स्वास्थ्यचौकीले किशोरकिशोरीहरुलाई सेवा दिन अलगै कक्षको व्यवस्थापन गरेको स्वास्थ्यचौकी प्रमुख महराले बताए । 

स्थानीय श्रोत र साधनको अधिकतम उपयोग गरेर नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिन स्वास्थ्यचौकी सदैव तत्पर रहेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update