पहिरोले अबरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु

बैतडी - बैतडीको पाटन नगरपालिका–४ जेउडेमा पहिरो खस्दा अबरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ ।
सोमबारदेखि लगातार भइरहेको बर्षाका कारण जेउडे मोडमा सडकमाथिबाट पहिरो खसे पछि सडक अवरुद्ध भएको थियो । आज बिहान साढे ६ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि सवारी साधनहरु बीचबाटोमै रोकिएका थिए ।
सडक डिभिजन कार्यालय पाटनको जेसिभिले पहिरो पन्छ्याए पछि अहिले राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । राजमार्ग सुचारु भएसँगै बिहानदेखि बिचबाटोमै रोकिएका सवारी साधनहरु गन्तब्य तिर लागेका छन् ।
मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेला–बेलामा पहिरो खस्ने गरेको छ । पहिरोका कारण विद्युतको पोल समेत जोखिममा रहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२ १३:४२
प्रतिक्रिया दिनुहोस्