
बैतडी –बैतडीको पाटन नगरपालिकामा नेकपा एमालेले ‘झिकडे बार’लगाएको छ । नगरपालिकामा भएको अनियमितताका विषयमा छानबिनको माग गर्दै विरोध स्वरूप झिकडे कार्यक्रमअन्तर्गत आइतबार नगरपालिकाको कार्यालयमा घङारुको ‘झिकडे बार’ लगाएको हो ।
यसअघि लेखा शाखामा उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा तालाबन्दी गर्दा उठाएका मागहरूमाथि छानबिन गरिनुपर्ने भन्दै ‘झिकडे आन्दोलन’ गरिएको एमालेले जनाएको छ । एमालेले नगरपालिकाको मूल गेट र भित्री गेटमा झिकडाको बार नै लगाएर आन्दोलन गरेको हो ।
नगरपालिकामा भएका भनिएका अनियमितताका विषयमा छानबिन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग राख्दै विरोधमा उत्रिएको एमाले नगर कमिटी अध्यक्ष धर्मराज भट्टले जानकारी दिए ।
यसअघि पाटन नगर कमिटी अध्यक्ष धर्मराज भट्टको अध्यक्षतामा बसेको नगर कमिटीको बैठकबाट विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको थियो । आइतबार पाटन नगरपालिकाको कार्यालयको गेटमा घेरबार गर्ने निर्णय गरिएका हो । त्यसैगरी पाटनमा भएको भनिएको अनियमितताका विषयमा छानबिन गर्न सम्बन्धित निकायसँग लगातार दबाब दिने पनि निर्णय गरिएको थियो । बैठकमा सहभागी प्रतिनिधिहरूले पाटनको छानबिन प्रक्रियालाई टुङ्गोमा नपु¥याएसम्म पछि हट्न नहुने बताएका थिए ।
गएको असार २६ गते पाटन नगरपालिकाको लेखा शाखामा तालाबन्दी गरिएको थियो । उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा आर्थिक अनियमितता भएको भन्दै लेखा शाखामा तालाबन्दी गरिएको थियो । बिना कागजात भुक्तानी भएको, काम सम्पन्न नभइकनै भुक्तानी दिइएको र अन्य विविध विषयमा अनियमितता भएको भन्दै लेखा शाखामा ताला लगाएका थिए । त्यसै दिन नगर उपप्रमुख गौरी सिंह रावलले तालाबन्दी खोलेर आवश्यक सहजीकरण गरिदिन माग गर्दै जिल्ला समन्वय समिति समक्ष पत्र पठाएका थिए।
त्यसको भोलिपल्ट जिल्ला समन्वय समितिको कार्यालयमा समन्वय प्रमुख खगेन्द्र धामी, उपप्रमुख दमन कुँवर, पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहरा, कार्यकारी नारायण बिष्ट लगायतका प्रतिनिधि सहभागी भएर नगर प्रमुख रावल भारत भ्रमणबाट फर्किए लगत्तै छानबिन समिति बनाउने सहमति गर्दै ताला खोल्ने सहमति भएको थियो ।
पाटन नगरपालिकामा भएको भनिएको अनियमितताका बिषयमा क्रियाशील राजनैतिक दलहरुले छानबिन गर्नुपर्ने माग गरेका थिए । नेकपा एमालेले यो बिषयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।
लेखा शाखामा गरिएको तालाबन्दी असार २९ गते खोलिएको थियो । तर ताला खोल्ने समयमा उपप्रमुख अनुपस्थित भएको भन्दै बजार व्यवस्थापन समितिको अगुवाईमा उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको थियो । उक्त तालाबन्दी अहिलेसम्म खुल्न सकेको छैन् ।