Sagun Khabar
बैतडीमा एक बर्षमा २३ सय बढी सवारी साधन कारवाहीमा, १५ लाख बढी राजस्व संकलन 
फाइल फोटो

बैतडी –बैतडीमा एक बर्षको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ३ सय ४३ सवारी साधन कारवाहीमा परेका छन् । 

ट्राफिक नियमको पालना नगरेका ती सवारी साधनहरुलाई कारवाहीको दायरमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दशरथ नाथले बताए । 

ट्राफिक नियम उल्लंघन गर्ने बस, ट्रक, ट्याक्टर, जिप, मोटरसाइकल, अटो, कार लगायतका सवारी साधन कारवाहीमा परेका हुन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट जरीवना लिने गरिएको प्रहरी सहायक निरीक्षक नाथले बताए । 

एक बर्षको अवधिमा सवारी साधन कारवाहीबाट १५ लाख ८४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी सहायक निरीक्षक नाथले बताए । 

अघिल्लो आर्थिक बर्षको तुलनामा भने गत आर्थिक बर्ष २०८१÷८२ कम सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियमका बारेमा प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको, ट्याक्टर बहस सञ्चालन गरेको लगायतका कारणले ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा कमी आएको प्रहरी सहायक निरीक्षक नाथले दाबी गरे । 

पछिल्लो समयमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्न दिएको छैन् भने ट्याक्टरमै यात्रु बोक्ने परिपाटीलाई हटाउन ट्याक्टर बहस सञ्चालन गरिएको नाथले बताए । यस्ता सचेतनामूलक कार्यक्रमले ट्राफिक नियम पालना गर्नेको संख्या बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । 

आर्थिक बर्ष २०८०÷८१ मा ४ हजार ४५९ सवारी साधन कारवाहीमा परेका र ती सवारी साधनबाट २३ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो । तर गत आर्थिक बर्ष २०८१÷८२ मा अघिल्लो बर्षको तुलनामा कारवाहीमा पर्ने सवारी साधनको संख्या झण्डै आधामा पुगेको छ । 

आर्थिक बर्ष २०७९÷८० मा ३ हजार ९ सय ६ सवारी साधन कारवाहीमा परेका र ती सवारी साधनबाट २१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update