Sagun Khabar
भारतसँग जोडिएका बैतडीका सीमा नाका बन्द 

बैतडी–भारतसँग जोडिएका बैतडीका सीमा नाकाहरु बन्द भएका छन् । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर हिजो साँझदेखि सीमा नाकाहरु बन्द गरिएका हुन् । 

झुलाघाट नाकासहित तल्लोसोराड क्षेत्रमा सञ्चालनमा रहेका घाटहरुमा आवतजावत बन्द गरिएको छ । निर्वाचनको सुरक्षाका लागि भारतीय पक्षले आग्रह गरे अनुसार साउन १२ गते सम्म सीमा नाका बन्द रहने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । 

चुनावको समयमा ७२ घण्टा सीमा नाका बन्द गर्ने गरिएको छ । नेपालको निर्वाचनको समयमा पनि नाका बन्द गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 

साउन १२ गते साँझ मतदान प्रक्रिया सम्पन्न भएपछिमात्रै नाका खुल्ने उनले बताए । शिवनाथ र पञ्चेश्वर गाउँपालिकासँग जोडिएका घाटहरु पनि निर्वाचनपछि मात्रै सञ्चालनमा आउने उनले बताए । 

केही दिन पहिला भारतको पिथौरागढमा सम्पन्न भएको सीमा सुरक्षा समन्वय बैठकमा चुनावी सुरक्षाका लागि सीमा नाका बन्द गर्ने सहमति भएको थियो । सोही सहमति र भारतीय पक्षको आग्रह अनुसार नाका बन्द रहेका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

आकस्मिक बिरामीहरुका लागि भने दुवै पक्षको सहमतिमा नाका खोल्न सकिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update