
दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कर्मचारी सरकारी कागजात किर्ते र जालसाजी अभियोगमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन् ।
जनकसिंह नगर प्रमुख विजयसिंह धामीका छोरा समेत हुन् । उनीहरु दुवै जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले बताए ।
दुवै जनामाथि आपराधिक विश्वसाघातमा मुद्दा दर्ता गरेर अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रावतले बताए ।
कृषि शाखा प्रमुख बि ष्ट र भेटेरिनरी प्राविधिक धामीले मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाएर झूटा कागजात तयार गरेका थिए।
समूहको निष्क्रिय बैंक खाता सक्रिय बनाएर ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्ने तयारी भइरहेको अवस्थामा घटना बाहिर आएको थियो ।
कृषि शाखा प्रमुख विष्टले ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखामा पत्राचार गरी, समूहको खाताबाट जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए ।