Sagun Khabar
बैतडीका पालिकाहरुले बित्तीय हस्तान्तरणको रकम खर्च गर्न नसक्दा २५ करोड बढी फिर्ता 

बैतडी–बैतडीका स्थानीय तहहरुले बित्तीय हस्तान्तरणको रकम खर्च गर्न नसक्दा २५ करोड बढी फिर्ता भएको छ । गत आर्थिक बर्ष २०८१÷८२ मा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएको बित्तीय हस्तान्तरणको २५ करोड ७८ लाख ३८ हजार ६४७ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ । 

संघीय सरकारबाट प्राप्त भएको २४ करोड ४ लाख २२ हजार २२४ रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त भएको १ करोड ७४ लाख १६ हजार ४२३ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका सूचना अधिकारी हरिदत्त पाण्डेयले जानकारी दिए । फिर्ता भएको यो रकममा बित्तीय हस्तान्तरण अन्तर्गत सशर्त अनुदान, बिशेष अनुदान र समपूरक अनुदान समावेश गरिएको उनले बताए । 

दशरथचन्द नगरपालिकाबाट संघीय सरकारको २ करोड ७१ लाख ६२ हजार ६८ रुपैया र प्रदेश सरकारको ३५ लाख ९ हजार २ सय ६ रुपैयाँ गरी ३ करोड ३२ लाख ७१ हजार २७४ रुपैयाँ फिर्ता भएको छ । 

जिल्लाको पाटन नगरपालिकाबाट संघीय सरकारको ३ करोड ७१ लाख ६२ हजार २५६ र प्रदेश सरकारको ३२ लाख ६४ हजार ९९५ रुपैयाँ गरी ४ करोड ४ लाख २७ हजार २५१ रुपैयाँ फिर्ता भएको छ । यस्तै पुर्चौंडी नगरपालिकाबाट संघीय सरकारको २ करोड २८ लाख ३० हजार १३२ रुपैयाँ र प्रदेश सरकारको २५ लाख ५४ हजार ८८० रुपैयाँ गरी २ करोड ५३ लाख ८५ हजार १२ रुपैयाँ फिर्ता भएको कोष नियन्त्रक पाण्डेयले बताए ।

जिल्लाको मेलौली नगरपालिकाबाट बित्तीय हस्तान्तरणको ३ करोड ४३ लाख २८ हजार ३३५ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ । जसमा संघीय सरकारको ३ करोड २८ लाख ८४ हजार ३५१ र प्रदेश सरकारको १४ लाख ४३ हजार ९८४ रुपैयाँ रहेको छ । यस्तै जिल्लाको सिगास गाउँपालिबाट संघीय सरकारको १ करोड ३८ लाख ५१ हजार ९७१ रुपैयाँ र प्रदेश सरकारको ७ लाख १३ हजार ७१५ रुपैयाँ गरी १ करोड ४५ लाख ६५ हजार ६८६ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

यसैगरी डिलाशैनी गाउँपालिकाबाट बित्तीय हस्तान्तरणको १ करोड ४१ लाख ६५ हजार १२६ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ । जसमा संघीय सरकारको १ करोड ३३ लाख ६० हजार ४७० रुपैयाँ र प्रदेश सरकारको ८ लाख ४ हजार ६५६ रुपैयाँ रहेको छ । यस्तै दोगडाकेदार गाउँपालिकाबाट संघीय सरकारको २ करोड ८० लाख १० हजार ७६० रुपैयाँ र प्रदेश सरकारको २ लाख १० हजार ३९३ रुपैयाँ गरी २ करोड ८२ लाख २१ हजार १५३ रुपैयाँ फिर्ता भएको कोष नियन्त्रक पाण्डेयले बताए । 

जिल्लाको सुर्नया गाउँपालिकाबाट २ करोड १५ लाख ९३ हजार ४९२ रुपैयाँ बित्तीय हस्तान्तरणको खर्च हुन नसकी फिर्ता भएको छ । जसमा संघीय सरकारको १ करोड ८८ लाख ८६ हजार ५ सय र प्रदेश सरकारको २७ लाख ६ हजार ९९२ रुपैयाँ रहेको छ । 

यसैगरी शिवनाथ गाउँपालिकाबाट संघीय सरकारको २ करोड २३ लाख ७५ हजार १४५ रुपैयाँ र प्रदेश सरकारको ५ लाख ४५ हजार ५५५ रुपैयाँ गरी २ करोड २९ लाख २० हजार ७ सय रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकाबाट संघीय सरकारको २ करोड १२ लाख ९८ हजार ५६८ र प्रदेश सरकारको १६ लाख ६२ हजार ४७ रुपैयाँ गरी २ करोड २९ लाख ६० हजार ६१५ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update