
बैतडी–जंगली जनावरले मकैबाली सखाप पार्न थालेपछि बैतडीका किसानहरु चिन्तित बनेका छन् ।
मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली जंगली जनावर बँदेल,दुम्सी, बाँदर, भालुले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।
जिल्लाका १० ओटै स्थानीय तहमा जंगली बँदेलले मकैबालीमा क्षति पुर्याउने गरेको छ ।
जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा जंगली बँदेलले मकैबाली नष्ट गरेको स्थानीय पुरनसिंह ऐरले बताए । रातभरी जाग्राम बस्दा समेत मकैबाली जोगाउन मुस्किल भएको उनले बताए ।
खेतबारीमा टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन नसकेको ऐरले बताए । भर्खर घोगा लाग्न लागेको मकैबाली जंगली बँदेलले नष्ट गर्न थालेपछि किसानहरुलाई भोकमरी हुने चिन्ताले छाएको उनले बताए ।
बैतडी मकै उत्पादनका हिसाबले राम्रो जिल्ला भएकाले मकै जोन कार्यक्रम समेत सञ्चालनमा रहेको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका,पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा रहेको छ ।
मकै जोन कार्यक्रम सञ्चालनमा रहेका पालिकाहरुमा समेत किसानहरुलाई मकैबाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालय बैतडीकी नायब प्राविधिक सहायक भावना भट्टले बताइन् । जंगली बँदेल, दुम्सी, बाँदर लगायतका जंगली जनावरबाट मकैबाली जोगाउन किसानहरुलाई सकस भएको उनले बताइन् ।
हरेक बर्ष मकैबालीमा जंगली जनावरहरुले क्षति पुर्याउने गरेको सुर्नया–६ का केशवराज अवस्थीले बताए । मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा समेत जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको उनले बताए । उनले भने, ‘रातभरी जाग्राम बस्दा समेत मकैबाली जोगाउन धौ–धौ परेको छ । हरेक बर्ष मकैबाली जोगाउन दुई महिना अनिँदो बस्नुपर्ने अवस्था रहेको छ ।’
बैतडीमा १२ हजार १ सय हेक्टर जमीनमा मकैखेती गरिँदै आएको छ । हरेक बर्ष मकै जोगाउन मुस्किल भएपछि मकै खेती गर्ने किसानहरुको संख्या घट्दै गएको छ । बालीनाली जंगली जनावरले सखाप पार्न थालेपछि कतिपयले खेत समेत बाँझै राखेर रोजगारीका लागि भारत पलायन भएका ऐरले बताए ।
यसैबीच मेलौली नगरपालिका–२ का विभिन्न स्थानमा हावाहुरीले मकैबालीमा क्षति पुर्याएको छ । सोमबार पानीसंगै आएको हावाहुरीले मकैबालीमा क्षति पुर्याएको स्थानीय लोकबहादुर चन्दले बताए ।