Sagun Khabar
पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले जब आँफैले आफ्नो बढुवा गरे...

बैतडी – बैतडीको  पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाह आफैँले आफ्नो बढुवा गरेपछि विवादमा तानिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको विवादास्पद स्थानीय सेवा ऐन, २०८१ लागु भएसँगै उनले आफ्नै सिफारिशमा आफूलाई अधिकृत सातौँ तहमा पदोन्नति गरेका हुन् । 

२०५३ साल साउन २४ गते स्वास्थ्य सहायक (अहेव)बाट सरकारी जागिर शुरु गरेका शाह हालसम्म सिअहेव अधिकृत पदमा कार्यरत रहेका थिए । तर सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा ऐन, २०८१ को दफा ९ को उपदफा ४ लाई आधार मानी उनले आफैँलाई सातौँ तहमा बढुवा गरेका हुन् । 

शाहले आफ्नो पहिलो नियुक्ति मितिलाई आधार मानेर २०५३ साल साउन २४ गतेदेखि नै जनस्वास्थ्य अधिकृतका रूपमा जेष्ठता कायम हुने गरी पदोन्नति गरेको उल्लेख गरेका छन् । 

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको तह मिलान गर्नुपरेमा कार्यपालिकाले गर्नुपर्ने व्यहोराको पत्र सबै स्थानीय तहलाई पठाएको थियो । उक्त बैठकमा प्रमुख प्रशासकीय अधिकृत सहभागी नहुने हुँदा बैठकको सदस्य सचिव भइ काम गरेको अधिकृतले तह मिलानको पत्र दिने उल्लेख गरिएको छ । तर पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले भने आँफैले आँफैलाई तह मिलानको पत्र दिएका छन् । 

यो बिषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाहले भने ऐनका बारेमा पार्याप्त जानकारी नहुँदा समस्या भएको बताए । आफूले पत्र बनाएपनि यो पत्रलाई खारेज गरेको र सम्बन्धित निकायमा नपठाएको दाबी गरेका छन् । 

गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि आफ्नो बढुवा प्रक्रिया शुरु हुने उनले प्रतिक्रिया दिएका छन् । 

Ramsagar-shah-1752753217.jpeg
 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update