
बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकामा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम सञ्चालन गरिएको छ ।
गाउँपालिका कार्यालयमा असार २५ गतेदेखि सुरु भएको विवरण सङ्कलनको काम साउन २० गतेसम्म सञ्चालन हुने भएको हो ।
हालसम्म १४३ जनाको विवरण सङ्कलनको काम भएको रूजु अधिकारी तुलाराम भट्टले बताए । ज्येष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दर्ता शिविरको आयोजना गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।
यसअघि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन जानुपर्ने बाध्यता थियो । नागरिकहरुको समस्यालाई ध्यानमा राखेर शिविरको आयोजना गरिएको उनले बताए । दर्ता शिविरले सहजै राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेको उनको भनाइ छ ।
बैङ्क खाता खोल्दा तथा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र हुनुपर्ने भनिएको छ । धेरै लाभग्राहीको राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट वञ्चित हुने अवस्था आएपछि दोगडाकेदार गाउँपालिकाले दर्ता शिविरको आयोजना गरेको हो ।
गाउँपालिकामै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् । हजारौँ खर्च गरेर परिचयपत्रकै लागि सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका नागरिक गाउँपालिकामा परिचयपत्र बनाउन पाउँदा खुसी भएका हुन् । गाउँपालिकामा नै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा खुसी लागेको स्थानीय फङ्के भाटले बताए ।
शिविरमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड समेत बढ्न थालेको छ। राष्ट्रिय परिचयपत्र बनाउन छुटेका नागरिकलाई शिविरमा आएर परिचयपत्र बनाउन आग्रह गरिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।
शिविरमा परिचयपत्र बनाउन ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीले बताए ।
दुर्गमका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सदरमुकाम आउन झन्झट हुने भएकाले गाउँपालिकामा नै टोली पठाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
हाल जिल्लाको दोगडाकेदार र पाटन नगरपालिकामा विवरण सङ्कलनको काम भइरहेको छ। जिल्लाका अन्य स्थानीय तहहरूमा पनि स्टेसन स्थापना गरेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम थालिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।