Sagun Khabar
पाटन नगरपालिकाको लेखा शाखाको ताला खुल्यो, उपप्रमुखको कार्यकक्षमा ताला लगाइयो 

बैतडी–बैतडीको पाटन नगरपालिकाको लेखा शाखामा गरिएको तालाबन्दी खोलिएको छ । यही असार २६ गते उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुले लेखा शाखामा तालाबन्दी गरेका थिए । 

आइतबार जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, उपप्रमुख दमनबहादुर कुँवर लगायतको उपस्थितीमा तालाबन्दी खोलिएको हो ।

उपप्रमुख लगायतका जनप्रतिनिधिहरुले ताला लगाउने बेला आरोप लगाएका बिषयमा नगर प्रमुख फर्केपछि छानबीन गर्ने सहमतिपछि ताला खोलिएको हो । यद्यपि ताला खोल्ने समयमा नगर उपप्रमुख बोहरा अनुपस्थित रहेका थिए । 

यसैबीच नगरपालिकाभित्र भएको भनिएको अनियमितताका बिषयमा छानबीन हुनुपर्ने माग गर्दै नगर उपप्रमुख कमलसिंह बोहराको कार्यकक्षमा तालाबन्दी गरिएको छ । स्थानीय नागरिकको प्रतिनिधित्व गर्दै पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टको अगुवाईमा उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको हो । 

स्वयं उपप्रमुखले नगरपालिकाभित्र अनियमितता भएको भनेर तालाबन्दी गरेको तर त्यो बिषयमा कुनै छानबीन समेत नगरी तालाबन्दी खोलेकाले यो बिषयमा स्पष्ट नहुँदा सम्म उपप्रमुखको कार्यकक्षमा तालाबन्दी जारी रहने भट्टले बताए । 

अनियमितता भएको भन्दै तालाबन्दी गरिएकाले अनियमितता भएको बिषयमा छानबीन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने आफूहरुको माग रहेको भट्टले बताए । २०७९ सालदेखि अहिलेसम्म जनप्रतिनिधिहरुको नाममा खर्च भएको रकम सार्वजनिक हुनुपर्ने लगायतका मागहरु राखेर तालाबन्दी गरिएको भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update