
बैतडी –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका चारओटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
लोक सेवा आयोगका सिफारिश बमोजिम नियुक्त भइ मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका शाखा अधिकृतहरुलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको हो ।
मन्त्रालयले आधारभूत प्रशासन प्रशिक्षण लिएको ३९ औं ब्याचका १ सय १४ जना शाखा अधिकृतहरुलाई विभिन्न ठाउँमा खटाएको छ ।
यही असार २५ गतेको निर्णय अनुसार बैतडीको सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । यी पालिकाहरुमा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम गर्दै आएका थिए ।
सुर्नया गाउँपालिकामा वसन्तबहादुर धानुक, पञ्चेश्वर गाउँपालिकामा दलबहादुर धामी, दोगडाकेदार गाउँपालिकामा नरेशराज जोशी र डिलाशैनी गाउँपालिकामा देवराज चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको मन्त्रालयले जनाएको छ ।