
बैतडी –जिप दुर्घटना हुँदा बैतडीको डिलाशैनी गाउँपालिका–१ घर भएका दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर एकै गाउँका दुई जनाको मृत्यु र ६ जना घाइते हुँदा गाउँपालिका शोकमा डुबेको छ ।
शनिबार बिहान भएको जिप दुर्घटनामा परी डिलाशैनी गाउँपालिका –१ घर भएका बरम आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ३२ बर्षीय किरनबहादुर बोहरा र डिलाशैनी गाउँपालिका –१ कै जिप चालक २४ बर्षीय सन्तोषबहादुर रानाको मृत्यु भएको हो ।
धनगढीबाट गण्न्नातर्फ आइरहेको सु.प.प्र.०१००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान साढे पाँच बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर डिलाशैनी १ कै ६ जना घाइते भएका छन् ।
दुर्घटना परेर एक कुशल स्वास्थ्यकर्मीको निधन भएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए । यस्तै एक होनहार युवाको निधनले सिंगो गाउँ शोकमा डुबेको उनले बताए । उनले भने, ‘गाउँभरी सन्नटा छाएको छ । दुखद घटनाले सबैलाई मर्माहत बनाएको छ ।’\
मृतक बोहराका घरमा एक छोरा, श्रीमती र आमा–बुवा रहेका छन् । यस्तै दुर्घटनामा मृत्यु भएका चालक रानाको घरमा एक छोरी, श्रीमती र आमा–बुवा रहेका छन् ।
एकै गाउँका दुईजना युवाको अकालमै ज्यान गएपछि गाउँपालिका शोकमा डुबेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।
डिलाशैनीका लागि आज कालो दिन भएको बताउँदै उनले एक कर्मठ, स्वास्थ्य क्षेत्रको कुशल व्यक्ति किरनबहादुर बोहरा र नरम स्वभावका युवा चालक सन्तोषबहादुर रानाको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
दुर्घटनामा परी एकै गाउँका दुईजनाको मृत्यु र ६ जना घाइते भएपछि गाउँपालिकाले आइतबार शोक बिदा दिएको छ । गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै आइतबार गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको जनाएको छ ।