
बैतडी –बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
जिल्लाभरीका जन्मेदेखि १५ महिनासम्मका ४ हजार ३ सय ३१ जना र १६ महिनादेखि ५९ महिनासम्मका १३ हजार १ सय ४८ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए ।
बैतडीलाई २०७२ साल असार ६ गते नेपालकै सातौं पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक बर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदैै आएको स्वास्थ्य कार्यालयका प्रमुख तिर्थराज भट्टले बताए ।
जिल्लाकै ८४ ओटै वडा र १० ओटै पालिका पूर्ण खोप सुनिश्चित घोषणापछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाले पूर्ण खोप सुनिश्चित घोषणाका सबै मापदण्ड पूरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको भट्टले बताए ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित प्रमुख डा. खगेन्द्रबहादुर बमले पूर्ण खोप दिगोपनाको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीलाई हस्तान्तरण गर्दै खोप कार्यक्रम स्वास्थ्यको प्राथमिकता प्राप्त कार्यक्रम भएको बताए ।
यस्तै १० ओटै स्थानीय तहहरुलाई पनि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित पालिकाको प्रमाणपत्र प्रदान गरेको छ ।
बैतडीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राष्ट्रसेवकहरुलाई निर्धक्क भएर काम गर्न आग्रह गरे ।
यस्तै जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले जिल्लालाई हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि समितिकातर्फबाट गर्न सकिने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।