
बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१÷८२ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
शिवनाथ गाउँपालिकाको आयोजना र रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जको सहजीकरणमा बिहीबार शिवनाथ गाउँपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।
गाउँपालिकाले बर्षभरी सम्पादन गरेका कामहरु र गाउँपालिकाले प्रदान गर्ने सेवाहरुको बारेमा नागरिकलाई सूसुचित गराउन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बार्षिक प्रतिवेदन पेश गर्दै उनले गाउँपालिकाले तय गरेको नीति, बजेट र कार्यक्रम अनुसार चालु आर्थिक बर्षका कामहरु सम्पन्न भएका बताए ।
सार्वजनिक सुनुवाई उठेका प्रश्नहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले गाउँपालिकाले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउन गाउँपालिकाबासीको सुझाव अनुसार अघि बढ्ने बताए । गाउँपालिकाको बजेट अनुसार काम भइरहेको र नागरिकका समस्या समाधानमा स्थानीय सरकार केन्द्रित रहेको बताए ।
यस्तै गाउँपालिका उपाध्यक्ष शकुन्तला साउँदले स्थानीयस्तरमा देखिएका समस्या समाधानमा गाउँपालिका सक्रिय रहेको बताइन् । नागरिकका आवश्यकता धेरै भएकाले सबै पूरा गर्न समय लाग्ने उनको भनाइ छ ।
सार्वजनिक सुनुवाईजस्ता कार्यक्रममा सहभागिता जनाएर गाउँपालिकाका कामहरुलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको अध्यक्ष साउँदले बताए ।
यसैबीच शिवनाथ गाउँपालिकाले चालु आर्थिक बर्षमा ८४ प्रतिशत बढी बित्तिय प्रगति भएको जनाएको छ । चालु आर्थिक बर्ष २०८१÷८२ मा गाउँपालिकाले ३६ करोड ७८ लाख ६७ हजार २५६ रुपैयाँ विनियोजन गरेकोमा ३१ करोड ३ लाख ९७ हजार ८८६ रुपैयाँ अर्थात ८४.३७ प्रतिशत खर्च भएको जनाएको छ ।
चालुतर्फ २८ करोड ४६ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले २१ करोड १४ लाख ३३ हजार २० रुपैयाँ अर्थात ८४.८१ प्रतिशत खर्च भएको गाउँपालिकाका लेखा शाखा प्रमुख देवराज सापकोटाले बताए । यस्तै पूँजीगततर्फ ८ करोड ३१ लाख ७९ हजार २५६ रुपैयाँ विनियोजन भएकोमा ६ करोड ८९ लाख ६४ हजार ८६६ रुपैयाँ अर्थात ८२.९१ प्रतिशत खर्च भएको उनले बताए ।