Sagun Khabar
बैतडीको सुर्नयामा पहिरोले गणेश आविको भवनमा क्षति

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–८ सेला स्थित गणेश आधारभूत विद्यालयको भवनमा पहिरोले क्षति पुर्याएको छ । सोमबार रातिको बर्षासंगै विद्यालय भवनको माथिबाट खसेको पहिरोले क्षति पुर्याएको विद्यालयका शिक्षक प्रतापसिंह मडैले बताए । 

पहिरोले दुई कोठे भवनको झ्यालमा क्षति पुगेको छ भने कक्षाकोठाभरी लेदो भरिएको छ । पहिरोको लेदो कक्षाकोठाभित्र पसेपछि पठनपाठनमा समस्या भएको शिक्षक मडैले बताए । 

बर्षातको शुरुमै खसेको पहिरोले क्षति पुर्याउँदा भवन नै पहिरोको जोखिममा परेको छ । लेदोसहितको पहिरोले कक्षाकोठाभित्र रहेका डेस्क,बेञ्चहरुमा समेत क्षति पुर्याएको शिक्षक मडैले बताए । 

कक्षा ५ सम्मको पढाइ हुने उक्त विद्यालयको भवनमा पहिरोले क्षति पुर्याएपछि अब कक्षाकोठाको अभाव भएको स्थानीय रामबहादुर साउँदले बताए । 

यस्तै सेलाकै अर्जुन साउँदको घर पनि पहिरोको जोखिममा परेको छ । घरको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि घर जोखिममा परेको साउँदले बताए । 

यस्तै सुर्नया गाउँपालिका–७ झाड्बोका शेरबहादुर महराको १० कोठे पक्की घर पहिरोको जोखिममा परेको छ । गत बर्ष नै पहिरोको जोखिममा रहेको उक्त घर जोगाउनका लागि घरको तलतिर तारजालीसहित पर्खाल लगाइएको थियो । सोमबार रातिको बर्षाले ५ लाखको लागतमा निर्माण गरिएको तारजालीसहित पर्खाल भत्काएको महराले बताए । 

पर्खाल भत्काएपछि महरा परिवारलाई समस्या भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update