Sagun Khabar
पहिरोले सुर्नया–७ को वडा कार्यालय र भुवनेश्वर माविको भवन जोखिममा 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका –७ स्थित भुवनेश्वर मावि चौथलीको भवन पहिरोको जोखिममा परेको छ । 

सुर्नया गाउँपालिका वडा नं ७ को कार्यालयको आँगनबाट खसेको पहिरोका कारण विद्यालयको चारकोठे भवन जोखिममा परेको विद्यालयका शिक्षक उत्तमबहादुर कुँवरले बताए । 

आँगनबाट पहिरो खसेपछि वडा कार्यालयको भवन पनि जोखिममा रहेको छ । 

माथिबाट खसेको पहिरोले विद्यालयका चारओटा कोठामा लेदो भरिएको शिक्षक कुँवरले बताए । पहिरोले कक्षाकोठामा केही क्षति पुगेको उनले बताए । 

सोमबार रातिको बर्षाका कारणले पहिरो खसेको बताइएको छ । पहिरो खसेपछि विद्यालय भवनका कोठाभित्र जानै मुस्किल भएको छ । 

भवनको अभाव रहेको भुवनेश्वर माविमा पहिरोले झन् समस्या निम्त्याएको विद्यालयका प्रधानाध्यापक नन्दराम अवस्थीले बताए । भवन अभावमा संयुक्त कक्षा सञ्चालन गर्ने गरिएको र पहिरोले भएका कोठाहरुमा समेत क्षति पुर्याएपछि पठनपाठनमा समस्या भएको उनले बताए । 

बर्षातको समयमा माथिबाट झन् पहिरो खस्ने जोखिम बढेको शिक्षक कुँवरले बताए । पहिरोको लेदो कोठाभित्र पसेपछि बालबालिकाहरुको दिवाखाजा पकाउने भाँडाकुँडामा केही क्षति पुगेको बताइएको छ । 

पहिरो रोकथामका लागि तत्काल उपाय अपनाउन नसकिए थप क्षति हुनसक्ने शिक्षक कुँवरले बताए । पहिरोले बालबालिकाहरुको पढाइ प्रभावित भएको उनले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update